प्रिय कमरेड अनिल,
क्रान्तिकारी अभिवादन।
विद्यार्थी जीवनदेखि सुरु भएको तपाईंको करिब तीन दशक लामो राजनीतिक यात्रालाई नजिकबाट देख्ने र महसुस गर्ने अवसर पाएको एक सहयात्रीको हैसियतले केही शब्दहरू व्यक्त गर्न चाहन्छु।
यो लामो यात्रामा तपाईंले भोग्नुपरेका दुःख, सहनुपरेका प्रहार र पिडा र झेल्नुपरेका यातनाहरू सामान्य थिएनन्। तर ती सबै चुनौतीहरूका बीच पनि तपाईंले आफ्नो निष्ठा, इमानदारी र जनताको पक्षमा उभिने प्रतिबद्धतालाई कहिल्यै कमजोर हुन दिनुभएन। संघर्ष र त्यागले भरिएको तपाईंको यो यात्राले तपाईंलाई केवल एक नेता मात्र होइन, जनताको आशा र भरोसाको प्रतीक बनाएको छ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा भएको निर्वाचनमा तपाईंको लामो संघर्ष र योगदानलाई मूल्यांकन गर्दै पार्टीले तपाईं जस्तो इमानदार र समर्पित पात्रलाई उम्मेदवार बनाएको निर्णय वास्तवमै न्यायपूर्ण थियो। चुनावी अभियान सुरु भएको पहिलो दिनदेखि नै हामी सबै सहयात्रीहरू “होत्सेमा हैसे” गर्दै दिन–रात नभनी अभियानमा जुट्यौं। बागलुङ क्षेत्र नं. २ का गाउँ–गाउँ पुगेर मतदातासँग भेट्दा उनीहरूले व्यक्त गर्ने विश्वास, माया र अपेक्षाले तपाईंप्रतिको जनविश्वास कति गहिरो छ भन्ने कुरा स्पष्ट देखिन्थ्यो।
बागलुङको राजनीतिक इतिहास र विकासका विभिन्न पहलहरूमा तपाईंको सक्रिय भूमिका र नेतृत्व सधैं अग्रपङ्क्तिमा रहँदै आएको छ। तपाईंले देखाउनुभएको निष्ठा, इमानदारी र जनताप्रतिको समर्पणले तपाईंलाई वास्तवमै एक योग्य र उत्कृष्ट उम्मेदवारको रूपमा स्थापित गरेको थियो भन्नेमा हामी सबै विश्वस्त थियौं।
यद्यपि चुनावी परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन। हल्ला, भ्रम र विभिन्न प्रकारका प्रपञ्चका बीच पनि बागलुङ–२ का जनताले तपाईंलाई दिएको लोकप्रिय मतले तपाईंप्रतिको विश्वास र सम्मानलाई स्पष्ट रूपमा देखाएको छ। हाम्रो विजय सम्भव नभए पनि यो पराजय अन्त्य होइन, बरु आगामी यात्राको एउटा महत्वपूर्ण मोड हो।
यस यात्रामा कतिपय अवस्थामा आफ्नैहरूले झुक्याए, आफ्नै जन्मभूमिले पनि तपाईंलाई पूर्ण रूपमा चिन्न सकेन, सँगै खेलेका र हिँडेका साथीहरूले समेत तपाईंको वास्तविकता बुझ्न सकेनन्। यसले केही पीडा अवश्य दिएको छ। तर मलाई विश्वास छ—भोलिका दिनमा यही घटनाले त्यो भूगोल र त्यहाँका जनतालाई सत्यतर्फ फर्केर सोच्न बाध्य बनाउनेछ।
यो घटनाक्रम तपाईंको तीन दशक लामो राजनीतिक यात्राको एउटा महत्वपूर्ण पाठ बनेको छ। यसले केही घाउ अवश्य दिएको छ, तर सँगै धेरै कुरा सिकाएको पनि छ—को आफ्नो हो, को पराइ हो भन्ने बुझ्ने अवसर दिएको छ। अब यस अनुभवबाट अझ बलियो भएर उठ्नुपर्छ। लाग्छ, हाम्रो यात्रामा अझै धेरै काम, धेरै संघर्ष र धेरै सम्भावनाहरू बाँकी छन्।
म तपाईंको एक शुभेच्छुक, भलोचाहने साथी तथा यस चुनावी अभियानको सहयात्रीको रूपमा केही दुःखी त छु। तर यत्ति विश्वासका साथ भन्न चाहन्छु—म कुनै पनि अवस्थामा विचलित हुने छैन। यसलाई संघर्षको पाठका रूपमा लिएको छु र आगामी दिनमा पनि तपाईंको राजनीतिक यात्राको हरेक मोडमा खम्बा बनेर साथ दिन तयार रहनेछु।
खहरे अवश्य सुक्नेछ।
अहिले बगेका बाटाहरू फेरि देखिनेछन्।
खहरेले बगाएको ठाउँमा फेरि कलिला मुना पलाउनेछन्।
र हामी फेरि त्यहीँबाट पुनर्निर्माणको नयाँ यात्रा सुरु गर्नेछौं।
क्रान्तिकारी लाल सलाम
तपाईंको शुभेच्छुक तथा सहयात्री
भवानी पन्त
(तस्विरः चुनावको दिन आ-आफ्नो काममा जादा बिहानै को समयको)


फेसबुक प्रतिक्रीया दिनुहोस