“रिफ्युजी अर्थात् शरणार्थी” यो शब्द सुन्ना साथ सामान्य बुझेका मान्छेले पनि राम्रो मान्दैनन् । सामान्य अर्थमा सबैले बुझ्ने सरल भाषामा भन्नु पर्दा यसको अर्थ आफ्नो देशमा बस्न नसकेर अथवा आफ्नो देशमा केहि छैन भनेर बाध्यतावस अन्य देशमा पुग्नु भन्ने हुन्छ ।
अर्को अर्थमा भन्दा आफ्नो देशमा आफुलाई खतरा छ भनेर अथवा देशमा आफ्नो कोहि छैन म वेवारिसे भएं भनेर अरुको देशमा मलाइ शरण देउ नत्र म बर्बाद हुने भएं बाच्न नसक्ने भएं भनेर शरण माग्नेहरुलाइ शरणार्थीको रुपमा बुझ्ने गरिन्छ ।
धेरै पहिले पहिले फलानो युरोप जान्छु भनेर गएको दलालले अलपत्र पारिदिएर फलानो देशमा शरणार्थी भएको छ रे, कति समय लाग्छ कागज बन्न सारो समस्यामा परेको छ रे भन्ने दुखद घटना बिरलै सुन्ने गरिन्थ्यो ।
त्यतिबेला म सोच्थें कुनैपनि देशमा जान सहज भिषा मिलेको भए, आफ्नै देशमा राम्रो भएको भए किन अरुको देश जानु पर्थ्यो ? किन शरणार्थी बन्नु पर्थ्यो होला र ।
एकाध सुनिने यस्ता घटना सुनिराखेकै बखत आफु पनि परदेश पसियो । भनिन्छ नमरी स्वर्ग देखिंदैन, आफुलाई नपरी कहाँ थाहा हुन्थ्यो र सबै घटनाको वास्तविकता बारे । जापान आएपछि देखें र बुझें नेपालमा भनिएको वा सुनाइएको जस्तो होइन यहाँ अवस्था धेरै फरक रहेछ । सुनेको कुरा देखियो र आफैं भोगियो । मलाई अहिले पनि याद छ सन् २०१० मा टोकियोमा आयोजित एक कार्यक्रममा सार्बजनिक रुपमा मैले उठान गरेको विषय र प्रश्न अझै उत्तिकै सान्दर्भीक देख्छु ।
“यहाँ शरणार्थी बाध्यताले होइन, रहरले पढ्न नसकेर बसेका अल्छीहरु, नियमित काम गर्न जागर नभएकाहरु, एकै पटक लाखौं कमाउछु महिनाको १० १२ मानमा के काम गर्नु भन्ने सोच भएकाहरु, अनि हप्ताको जम्मा २८ घण्टा मात्र कामको कमाईमा सन्तुष्ट नभएर झ्याप्प कमाउन पाइन्छ भनेर नियम मिच्ने अनि भिषा नआएपछि शरणार्थी बन्नेहरु धेरैछन् । त्यो पनि प्राय नेपालीहरु कै पहलमा नेपालीहरुले नै कमिशन खाएर शरणार्थी बन्न प्रेरित र सहयोग गरिरहेका छन् । जसमा जापानमा अगुवा भनेर चिनिने र स्थापित व्यक्तिहरु समेत संलग्न छन् । जापानमा शरणार्थी बन्न निरुत्साहित गर्नुपर्नेमा यदाकदा बाहेक प्रोत्साहन गर्ने गरेको पाइन्छ ।”
शरणार्थी बन्नेलाई कस्तो अनुभव हुँदो हो कुन्नी म यसै भन्न सक्दिन । तर मेरो व्यक्तिगत अनुभव भन्नुपर्दा शरणार्थी बन्ने र आवेदन दिनेहरु देशको नाम बदनाम गरेर व्यक्तिगत लाभ र स्वार्थका लागि शरणार्थी बनिरहेका छन् । अरुको देशमा गैर नागरिक भएर बस्नु भन्दा म चाहिँ नेपाल गएर आफ्नै घरखेत खनजोत गरेर डाँडामा खेतीपाती गर्नेथिएं स्वाभिमानी बनेर ।
जापानमा नेपालीहरुले वास्तवमै समस्यामा परेर भन्दापनि छोटो बाटोबाट पैसा कमाउनको लागि शरणार्थी बन्ने गरेको देखेको छु । जुन गलत संस्कार अझै व्यापक बनिरहेको यसमा बर्षेनी थपिएको संख्याले देखाउँछ ।
यतिसम्मकी विद्यार्थी वा कुक भिषामा आएकाहरु मात्र नभई नेपालबाट कार्यक्रममा कलाकारका नाममा बोलाउने, भिजिट भिषामा ल्याउने अनि शरणार्थी बन्न लगाउने काम गर्ने नाम चलेका व्यक्तिहरु यही समाजमा छन् । ढिलो चाँडो त्यस्ता व्यक्ति समाजमा नांगिनेनै छन् ।
विद्यार्थीहरु राम्रोसंग २ बर्ष मेहनतले पनि नपढ्ने, भविष्यको योजना बनाएर अध्ययन गर्ने भन्दा रातारात पैसा कमाउने गलत सोचले यस्तो बाटो अपनाउने गरेको देखिन्छ । २ बर्ष मेहनत गरेर जापान आएर भाषा सिकेको बिधार्थीहरुले कहिल्यै कतै कामको लागि भौंतारिनु पर्ने वा दुख पाएर शरणार्थी बन्नुपर्ने अवस्था कहिल्यै आउँदैन र आएको देखेको पनि छैन ।
तर जापान विद्यार्थी भिषामा आएर भाषा पनि नसिक्ने मेहनत नगर्ने अनि अर्काको देशमा हेयको दृष्टिले हेरिने शरणार्थीमा आवेदन दिनेहरुको संख्या सयमा होइन हजारमा बढिरहेको देख्दा यसले देशकै बदनाम गराईरहेको अनुभुति हुन्छ ।
अहिले जापानमा शरणार्थीका रुपमा बस्ने बिदेशीको संख्याको आधारमा नेपालीहरु बर्षेनी अन्य देशको तुलनामा बढी रहेको छ । यसले कुनैपनी बेला बिकराल समस्या लिएर जापानमा धेरै शरणार्थी बनेर बस्ने देशको रुपमा हामीलाई चिनाउन सक्ने डर उत्पन्न गराएको छ ।
तपाई हाम्रो चासो, चिन्ता अनि चिन्तनसँगै सचेतना अभिवृद्धि गरेर भएपनि हामीले यस्तो गलत प्रवृत्ति र संस्कार हटाउन पहल गर्नैपर्ने भएको छ ।
जापानमा नेपालीहरुको सामाजिक संघसंस्थाहरुनै सयौंको संख्यामा रहेका छन् । तर सामाजिक संघ सस्थाहरुले उत्प्रेरणा जगाउने र सिर्जनशिल बनाउने कार्यक्रमहरु गरेको बिरलै सुन्न पाईन्छ । जसले शरणार्थी बन्न होइन मेहनत र परिश्रमले स्वावलम्बि र सक्षम बन्न प्रेरित गर्ने काम गरोस्, त्यस्ता खालका कार्यक्रमहरु अहिलेको आवश्यकता बन्न थालेको छ ।
तर दुखका साथ भन्नुपर्दा सामाजिक संघ सस्थाहरुको मुख्य ध्याननै नेपालबाट कलाकार ल्याउने कार्यक्रम गर्ने अनि केही पैसा संकलन गर्ने नाफा निकाल्ने, कतै थोरै सहयोग गरेर समाजसेवी कहलीएर हिँड्नेमा छ ।
जापानको ठुलो संस्था मानिएको एनआरएनए जापानकै कुरा गर्ने हो भने त शरणार्थी आबेदन दिएकाहरुलाई नै साथ लिएर जिम्मेवारी दिंदै हिँडेको पाइन्छ । अगुवा संस्थाहरुनै विकृति रोक्ने काममा हिँड्नुपर्नेमा उल्टै त्यस्तो बाटोमा हिँडेकालाई साथ लिएर हिँडेपछि उनिहरुबाट यस्तो काम रोकथाममा पहल हुन्छ भन्ने आशा कसरी गर्ने ?
चिन्ताको विषय समाजमा स्थापित अभियन्ताहरुनै अलिकति पनि लाज शरम नमानी शरणार्थी हने तरिका सिकाउन, प्रक्रिया मिलाउन लागि पर्दै सघाउँदै हिँड्छन् । अनि कहिले रोकिएला जापानमा नेपालीहरुको शरणार्थी आवेदनको संख्या र जोगाउन सकिएला देशलाई बदनाम हुनबाट पढेलेखेका र बुझेका तर बुझपचाउने अगुवाहरुबाट ! ईति…
जापान समाचार डटकममा २०१८ जुन १० मा प्रकाशित
फेसबुक प्रतिक्रीया दिनुहोस